काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचार निरुत्साहित गरी सुशासन कायम गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

शुक्रबार आयोजित युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले निष्पक्ष पत्रकारिताले सुशासन कामय गर्न ठूलो योगदान दिने बताए। मन्त्री चौधरीले भने, “पत्रकार साथीहरू, म आग्रह गर्न चाहन्छु कि तपाईहरूले भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन स्थापनामा आफ्नो अहम भूमिका निर्वाह गर्नुपर्छ। खरिद ऐन, खेलकुद विकास ऐनलाई सम्मान गर्नुपर्छ। हामीले निष्पक्ष पत्रकारिता गर्ने कि नगर्ने?”

उनले खेलकुद मन्त्रालयको कमी कमजोरी उजागर गर्दै पत्रकारहरूलाई पहलकदमी लिन समेत आग्रह गरे।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्का, अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा, र राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई प्रदान गरियो।