रामेछाप, असार २७
रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासस्थित सल्लेनी सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको मदन भण्डारी पार्क क्रमशः आकर्षक घुमफिर गन्तव्यका रूपमा विकास हुँदैछ । जिल्लाको सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा रहेको यो पार्क शान्त, हरियाली र रमणीय वातावरणका कारण पिकनिक तथा अवलोकन भ्रमणको केन्द्र बन्दै गएको छ ।
स्थानीय वडाध्यक्ष मनोज पौडेलका अनुसार खाँडादेवी मन्दिर दर्शनमा आउने श्रद्धालुहरू पनि पार्क पुग्ने गरेका छन् । पार्कको सौन्दर्यमा थप निखार ल्याउन खानेपानी, किचन, शौचालय, कम्पाउण्ड र मदन भण्डारीको सालिक जस्ता संरचना निर्माण गरिएको छ ।
सुरुमा गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी डिपिआर तयार पारेको पार्कका लागि वाग्मती प्रदेश सरकारले ५० लाख रुपैयाँको बजेट उपलब्ध गराएको थियो । जिल्ला वन कार्यालयको समन्वयमा फोहोरा सहितको पोखरी, ढुंगा छाप्ने काम लगायत विविध पूर्वाधार निर्माण गरिएको छ ।
प्राकृतिक सौन्दर्यले भरिएको सल्लेनी वनको बीचमा रहेको यो पार्क अब मन्थलीलगायत वरपरका बासिन्दाहरूका लागि पिकनिक स्पट मात्र नभई पर्यटकीय सम्भावना बोकेको गन्तव्यका रूपमा स्थापित हुँदैछ ।
पार्कलाई हरियाली बनाउन खाँडादेवी गाउँपालिकाको युवा परिषद्ले गत वर्ष र यस वर्ष समेत विभिन्न जातका बिरुवा रोपेको परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।