काठमाडौं– स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अब उपचारका लागि दोब्बर सहायता पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले २ लाख रुपैयाँसम्मको उपचार खर्च बिमा कार्यक्रममार्फत पाउने घोषणा गरेका छन्।
यसअघि एक लाखमा सीमित उपचार सहायता अब दोब्बर गरिएको हो। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो सुविधा जनताको स्वास्थ्यप्रति सरकारको प्रतिबद्धताको हिस्सा भएको बताएका छन्।
स्वास्थ्य बिमा बोर्डको निर्णयअनुसार यो योजना साउन १ गतेदेखि लागु हुनेछ। कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले पनि बोर्ड बैठकबाट निर्णय पारित भएको जानकारी दिएका छन्।
मन्त्री पौडेलले स्वास्थ्य बिमाको पहुँच विस्तार गर्न सरकारी तथा संगठित क्षेत्रका सबै कर्मचारीलाई अनिवार्य रुपमा आबद्ध गराउने नीति अघि सारेका छन्। साथै, वैदेशिक रोजगारमा गएकाका परिवारलाई समेत बिमामा समेट्ने तयारी गरिएको छ।
सरकारले बिमा बोर्डको बक्यौता शून्यमा झार्ने, संघीय अस्पतालको आम्दानीको १ प्रतिशत बिमा कोषमा पठाउने र प्रगतिशील करमार्फत कोषमा रकम बढाउने निर्णयसमेत गरेको छ।
बिमा कार्यक्रम पारदर्शी र प्रभावकारी बनाउन अस्पतालको निगरानी, अनियमित भुक्तानीको कारबाही र प्रणाली सुधारका कामहरू तीव्र पारिएको जनाइएको छ।







![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)






























