काठमाडौं— धुलिखेलमा निर्धारित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ रसुवाको चिलिमे क्षेत्रमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा सम्पन्न हुन सकेन। भोटेकोशीको भीषण बाढीमा १८ जना बेपत्ता भएपछि, जसमा केही सुरक्षाकर्मी पनि समावेश छन्, गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेका हुन्।

गोष्ठीको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गरेका थिए। यसमा गृहमन्त्री रमेश लेखक, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ), सुरक्षा निकायका केन्द्रीय प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति थियो।

बैठकमा अन्तर जिल्ला समन्वय सत्र र अन्य प्रस्तुतिहरू स्थगन गरिए पनि पूर्वनिर्धारित सुरक्षा ब्रिफिङ सत्र भने सञ्चालन गरिएको थियो। उक्त ब्रिफिङमा प्रदेशस्तरीय सुरक्षाका रणनीति, विपद् व्यवस्थापन, आपतकालीन तयारी, जिल्लास्तरीय समन्वय र सूचनाको प्रवाहबारे छलफल गरियो।

बैठकमा सहभागी अधिकांश सुरक्षा अधिकारी र प्रशासनिक पदाधिकारीहरूले रसुवाको अवस्था तत्काल हेर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रम छोट्याउने निर्णयलाई समर्थन गरेका छन्। बाढीको तत्कालीन स्थिति, मानवीय क्षति, बेपत्ता सुरक्षाकर्मीको अवस्थासहित गृह मन्त्रालयले प्रमुख विषयवस्तुहरूलाई तत्काल समन्वय गरी निष्कर्ष निकालेको बताइएको छ।