काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो सन्तानको रूपमा भएको थियो।
पूर्वराजाको जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राजावादी समर्थकहरू बिहानैदेखि शुभकामना दिन निर्मल निवास पुग्न थालेका छन्। राजावादी पार्टी राप्रापाले समेत जन्मदिनलाई आन्दोलनको स्वरूपमा मनाउने घोषणा गरेको छ।
ज्ञानेन्द्र शाह आफ्नो जीवनकालमा दुईपटक नेपालका राजा बने। पहिलो पटक वि.सं. २००७ सालमा साढे तीन वर्षको उमेरमा, जब उनका हजुरबुवा त्रिभुवन भारत निर्वासित हुँदा प्रधानमन्त्री मोहन शमशेरले उनलाई राजा घोषित गरेका थिए। तर, दिल्ली सम्झौता पश्चात त्रिभुवनको पुनरागमन भएपछि ज्ञानेन्द्रको पहिलो राजत्व छोटो अवधिमा समाप्त भयो।
उनको दोस्रो राजगद्दी आरोहण २०५८ सालमा दरबार हत्याकाण्डपछि भयो, जसमा राजा वीरेन्द्र शाहसहित सम्पूर्ण राजपरिवारको मृत्यु भएको थियो। युवराज दीपेन्द्रलाई अल्पकालीन रूपमा राजा घोषणा गरिए पनि उनको मृत्यु भएपछि ज्ञानेन्द्र पुनः राजा बने।
२०६१ साल माघ १९ मा उनले लोकतान्त्रिक सरकार विघटन गरी कार्यकारी अधिकार लिएपछि उनको शासन विवादास्पद बन्न पुग्यो। सोही कदमको विरोधमा उठेको जनआन्दोलनका कारण २०६२/६३ मा राजतन्त्र अन्त्य भई नेपाल गणतन्त्रमा प्रवेश गर्यो। २०६५ जेठ १५ मा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दै नागार्जुन दरबार सरेका थिए।
हाल उनी पूर्वराजाका रूपमा निजी जीवन बिताइरहेका छन्, यद्यपि पछिल्ला वर्षहरूमा पुनः सक्रिय हुँदै राजसंस्थाको पुनःस्थापनाका लागि प्रयासरत देखिएका छन्। सार्वजनिक अपिलमार्फत उनले जनसमर्थन मागेका थिए, तर ती प्रयासहरू अहिलेसम्म सफल भएका छैनन्।