काठमाडौं— सुदूरपश्चिम प्रदेशमा लगातार परेको अविरल वर्षाका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र तत्काल परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

विशेषगरी कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरू भारी वर्षाले प्रभावित बनेका छन्। यी क्षेत्रका धेरै ठाउँहरू डुबानमा परेका छन् भने केही स्थान जलमग्न भएको बताइएको छ।

मुख्यमन्त्री शाहले नागरिकहरूलाई बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट जोगिन सावधानी अपनाउन र सम्भावित जोखिमको ख्याल गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

यसैबीच, मोहना नदीमा पानीको सतह बढ्दो क्रममा रहेको र बाढीले सतर्कता तह पार गरिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी किनार आसपास बसोबास गर्ने बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन अनुरोध गरेको छ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा राहत तथा उद्धारमा खटिने निकायहरूलाई तत्काल आवश्यक तयारी गर्न र संकट आउनु अघि नै पूर्वसावधानी अपनाउन आह्वान गरिएको छ।