काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै चाबहिलस्थित ओम हस्पिटललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
यो फैसला अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासबाट सुनाइएको हो। फैसला अनुसार, लापरबाहीबाट भएको क्षतिको ८०% ओम हस्पिटलले र बाँकी २०% उपचारमा संलग्न चिकित्सकहरूले व्यहोर्नुपर्नेछ। चिकित्सकहरूलाई छुट्टै ६ लाख १० हजार रुपैयाँ तिर्न पनि आदेश दिइएको छ।
यो मुद्दा बुढानीलकण्ठ–९ निवासी बसन्त गौतमले २०८० चैत २ गते दर्ता गरेका थिए। उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा भर्ना भएका थिए। बाथरुममा लडेपछि अस्पतालले आवश्यक परीक्षण नगरी पीडाबाट राहत दिने इन्जेक्सन दिएर लापरबाही गरेको र त्यसकै कारण मृत्यु भएको भन्दै बसन्त गौतमले ५ करोड क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेका थिए।
यो फैसला उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा पनि हो।