भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।  गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर  सेवा प्रवाह गरेको उनले बताइन् ।

‘यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो’ उपाध्यक्ष राईले भनिन्, ‘सामन्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।’ नागरिकलाई सहज रुपमा स्वास्थ्यसेवा पु¥याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन् । भौगोलिक रुपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन् ।

OM Sai Pathibhara Hospital

सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ– ५ का रमेश विष्टले बताए । स्वास्थ्य इकाई स्थापनाले  यहाँका नागरिकले  तीनदेखि चार घण्टा समय  लगाएर अन्य ठाउँमा सेवा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । ‘सामन्य स्वास्थ्य सेवा लिन नै समस्या थियो’, उनले भने, ‘अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ । अहिले हाम्रो वषौँदेखीको समस्या हटेको छ ।’

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भए पनि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीयवासी देवबहादुर विष्टले बताए । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनको लागि घण्टाँैं पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।

‘पुस्तौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ’ उनले भने, ‘अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो । अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौँ ।”