OM Sai Pathibhara Hospital


काठमाडौँ  lकाठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका औषधीसम्बन्धी लगत सङ्कलन गरिरहेको छ। उनीहरुलाई औषधीको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत सङ्कलन गरिरहेको हो। विवरण प्राप्त भएपछि उनीहरुको स्वास्थ्य प्रवर्द्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ, विभागका प्रमुख दिपक केसीले कार्यक्रमका बारेमा जानकारी दिएको छ।

विभागले महानगरपालिकाकै पञ्जिकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ। मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोवाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ। अहिलेसम्म एक हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ। उहाँहरुमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधी सेवन गरिरहेका  छन । 

यदि काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा हुनुहुन्छ र महानगरपालिकाभित्रै बसोबास गरिरहनु भएको छ भने ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले पनि लिङ्क क्लिक गरेर भर्न सकिने छ । यस्तै आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ।

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६५४ जना छ। ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार ७७० जना छ। धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति छन। एक सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ जना रहेको छ।

९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका पाँच हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक छन ।