अकबर अलि, सुनसरी । सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टैनरिज छाला उद्योगले प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन (आइइइ) पास गर्न आयोजित सार्वजनिक सुनुवाइ विरुद्ध स्थानीयहरुले बिरोध प्रदर्शन गर्दै कार्यक्रमनै बिथोलिदिएका छन् ।

सार्वजनिक सुनुवाइमा उद्योग प्रशासनले एकतर्फी सुनुवाइ गरेको भन्दै स्थानीयहरुले नाराबाजी सहितको बिरोध प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयहरूले सार्वजनिक सुनुवाइ गर्न बनेको माइन्युट समेत च्यातेका थिए । 

OM Sai Pathibhara Hospital

उक्त उद्योगले अत्याधिक दुर्गन्ध र प्रदुषण गरेको भन्दै स्थानीयहरु उद्योग संचालन भएदेखि निरन्तर आन्दोलनमा छन् । 

सुनसरीको दुहबीमा सञ्चालित युनाइडेट टेनरिज छाला उद्योगका कारण बस्तीमा दुर्गन्ध फैलिए संगै गाउँमा बिहेबारी गर्न छोरी समेत दिन छोडेको स्थानीयहरुले दुखेसो पोखेका छन् । उद्योगले कच्चा पदार्थ (छाला) खुला स्थानमा सुकाउने र उद्योगबाट निस्किएको फोहोर सिधै बुढी खोलामा फाल्दा दुर्गन्ध फैलिएको भन्दै आन्दोलनरत स्थानीयहरुले उद्योग सार्न माग गरिरहेका छन् ।   २०४६ (१९८८)सालमा स्थापित युनाइटेड टेनरिजले छालाको तयारी सामग्री उत्पादन गर्छ । 

स्थानीयले उद्योग सार्न माग गर्दै आन्दोलन सुरु पछि कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयले उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगबाट निस्किएको केमिकलसहितको फोहोर पानी सिधै बुढी खोलामा फालेको र प्रारम्भिक वातावरणीय परीक्षण नै नगरेको पाइएको थियो । 

मन्त्रालयका उपसचिव ध्रवकुमार भण्डारीसहितको टोलीले वातावरणीय प्रभाव मूल्याङ्कन र फोहोर पानी प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट पनि नराखेका कारण तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थिए । मन्त्रालयले प्रारम्भिक वातावणीय परीक्षणपछि मात्रै सञ्चालन गर्न निर्देशन दिएको हो । स्थानीयले छाला उद्योगविरुद्ध २०५४ सालदेखि आन्दोलन गरिरहेका छन् । 

पूर्व वडाअध्यक्ष मुन्ना हलुवाई साहले उद्योगका कारण खत्वे टोल र चौधरी टोलका दुई सय भन्दा बढी घर प्रभावित भएको बताउँछन् । दुर्गन्ध नियन्त्रण नगर्ने भए उद्योगलाई स्थानान्तरण गर्न आग्रह गरिएको उनले बताए ।

छाला प्रशोधन उद्योगका कारण गाउँमा बस्न सक्ने अवस्था नरहेको संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानको गुनासो छ । ‘उद्योगको दुर्गन्धका कारण गाउँमा पाहुना आउन छाडे, साथीभाई पनि आउदैनन्’, पासवानले भने, ‘बिहेवारी हुन पनि समस्या छ ।’ उनका अनुसार फोहोर पानी सिधै खोलामा फालेका कारण खोलाको पानी खाने गाईवस्तुमा पनि समस्या देखिएको छ । ‘उद्योगको दुर्गन्ध हाम्रो बस्तीमा मात्र होइन, कोशी राजमार्ग यात्रा गर्ने यात्रुले बुढीखोला पुल आसपास झेल्नुपर्छ’, उनले भने,‘ उद्योगले मनोमानी गर्दा समस्या भयो ।’

युनाइडेटसँगै एसियन लेदर उद्योग छ । दुईवटै उद्योगबाट दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ । युनाइडेटविरुद्धको आन्दोलनपछि स्थानीयले एसियन विरुद्ध पनि आन्दोलन गर्ने तयारी गरेका छन् । संघर्ष समितिका अध्यक्ष पासवान भन्छन् ‘हामीलाई धेरै समस्या छ, सुनिदिने कोही छैन ।’ प्रदेशको अनुगमन समितिले सञ्चालन रोक्न निर्देशन दिएपछि उद्योग बन्द भएको बताए ।

युनाइटेडका सञ्चालक भने आफ्ना विरुद्ध योजनावद्ध रुपमा आन्दोलन भइरहेको बताउँछन् । ‘एकैठाउँमा दुई वटा छाला उद्योग छन्, दुई वटैबाट दुर्गन्ध आउँछ, तर टार्गेट हामी विरुद्ध गरिएको छ’, उद्योग सञ्चालक सद्धाव अख्तरले भने, ‘हाम्राविरुद्ध राजनीतिक चलखेल भइरहेको बताए  ।’