पोखरा :विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । ‘स्याटेलाइट ट्याग’ लगाइएको गिद्ध अयोध्याको घाघरा नदीछेउ ३ दिन बसेर पोखरा फर्किएको हो ।
नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका विज्ञ कृष्णप्रसाद भुसालले गत असोज २(सितम्बर १८)मा पाँच वटा गिद्धमा ‘स्याटेलाइट ट्याग’ लगाएको थियो। पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ‘ट्याग’ लगाइएको थियो । तीन वटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ‘ट्याग’ लगाइएको थियो । यिनैमध्येको एउटा वयस्क गिद्ध कात्तिक १४ (अक्टूबर ३०)मा पोखराबाट करिब २५० किमि उडेर अयोध्या पुगेको भुसालले बताए ।
गिद्ध पहिलो दिनमै पोखराबाट रूपन्देहीको गैडहवा तालनजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । अर्को दिन लुम्बिनी आसपास बस्यो । तेस्रो दिन भारतको बलरामपुरनजिक ५ दिन बसेको देखिन्छ । त्यसपछि अयोध्याको घाँघरा नदी आसपास ३ दिन बसेर पोखरा फर्किएको हो ।
पोखरा आउने क्रममा अयोध्याबाट बिहानै उडेको गिद्ध कपिलवस्तुको राजापानी सामुदायिक वनमा बास बसेको र अर्को दिन स्याङ्जाको पुतली बजार बसेर तेस्रो दिन पोखरा पुगेको भुसालले बताए ।
सेतो गिद्ध आहाराको खोजीमा जाने दूरी, प्रजनन गर्ने स्थान र बसाइँसराइको अवस्था तथा चुनौतीबारे पत्ता लगाउन ‘ट्याग’ लगाइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर ‘लेग होल ट्र्याप’ लगाइएको थियो। ‘दुई लाख मूल्य पर्ने स्याटेलाइट ट्याग ३० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई–दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ,’ उनले भने , ‘ब्याट्रीले काम गरे/नगरेको र चार्ज रहे/नहरेको सबैको जानकारी पनि आइरहने हुँदा अध्ययनमा सहज हुन्छ ।’
घामले आफैं चार्ज हुने ब्याट्री राखिएको ३ देखि ५ वर्षसम्म आयु रहेको ‘स्याटेलाइट ट्याग’ जडान गर्ने भुसाल आफैं विशेषज्ञ हुन । उनको नेतृत्वमा बुल्गेरियाका विशेषज्ञ डा. भ्लादिमिर दोब्रे र संरक्षणकर्मी दिमित्री चेरनेभा, गिद्ध विशेषज्ञ अंकितविलास जोशी र ईश्वरी चौधरीको टोलीले ‘ट्याग’ लगाएको थियो। ‘ट्याग लगाएको तीन महिना भयो, गिद्धहरूको खासै मुभमेन्ट देखिएको छैन, अयोध्या गएको गिद्ध पनि आहारकै लागि गएजस्तो लाग्छ,’ गिद्ध विशेषज्ञ जोशीले भने , ‘अब यसको प्रजननको बेला आउँदै छ, यो समय केही नयाँ तथ्य थाहा पाउन सकिन्छ ।’
कस्तो ठाउँमा कसरी गुड लगाउँछ, कसरी बचेरा हुर्काउँछ र के–के समस्या भएजस्ता सूचना पाउन सकिए संरक्षणका लागि योजना बनाउन सहयोग पुग्ने उनले बताए । एउटा बच्चा मात्र जन्माउने यो गिद्धले माघ(जनबरी - फरबरी )मा गुँड बनाउँछ भने फागुन/चैत( फरबरी-मार्च )मा ओथारो बसेर असार(जुन - जुलाई ) मा बचेरा उडाउँछ । नेपालमा दुर्लभ सेतो गिद्धको संख्या ३ सयदेखि १ हजारसम्म रहेको अनुमान छ । यसमध्ये आधा संख्या पोखरा उपत्यकामा रहेको विज्ञहरूको अनुमान छ । यसको तौल दुईदेखि तीन केजीसम्म हुन्छ । यसअघि पनि आहारा र जोडी खोज्दै दुर्लभ डंगर गिद्ध भारतको हिमाचल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्म पुगेको थियो।
सन् २०१८ मा नवलपरासीको पिठौलीबाट ११ सय किमि यात्रा गर्दै भारत र पाकिस्तानको सिमासम्म पुगेको थियो । सिकारी चरा समूहअन्तर्गत पर्ने गिद्ध ठूलो मांसहारी पन्छी हो । यसले आफैं सिकार नगरी मरेका जनावरको सिनो खान्छ । सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई वातावरणको दुर्गन्ध घटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ ।