कोशी पर्यटन वर्ष २०८२ को सचिवालय स्थापना गरिएको छ। आइतबार कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना गरिएको हो। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सचिवालयको उद्घाटन गरे। सचिवालय उद्घाटन कार्यक्रममा मन्त्री मण्डलले पर्यटक र पर्यटनको माध्ययमबाट राष्ट्रिय पुँजी निर्माण गर्ने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको बताए।
उनले पर्यटनको माध्यमबाट नै अर्थतन्त्रलाई चलायमान बनाउने र कोशी प्रदेशलाई पर्यटनको हवका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए। उनले सबैको सहयोग लिएर पर्यटन वर्ष सफल बनाउने स्पष्ट पारे।
कोशी पर्यटन वर्ष २०८२ लाई व्यवस्थित पार्न कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष निर्देशक समिति गठन गरेको जानकारी दिँदै समितिका सहसंयोजक कृष्ण शाहले यो भ्रमण वर्षले अबको आम्दानीको बाटो पर्यटन पनि हुन्छ भन्ने सन्देश दिने बताए ।
सहसंयोजक शाहले अहिले प्रदेश सरकारले विनियोजन गरेको १० करोड रुपैयाँ कम भएको टिप्पणी भइरहेको सन्दर्भ उल्लेख गर्दै यो रकम सुरुवाती भएको र प्रवद्र्धनका लागिमात्र भएको बुझ्नुपर्ने शाहले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरे, पर्यटन व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो। भ्रमण वर्षका लागि सचिवालय स्थापना भएसँगै पर्यटन वर्षका कार्यक्रम सुरू भएको र सबैले आआफ्नो ठाउँबाट कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन कोशी पर्यटन वर्ष निर्देशन समितिले सबैमा आह्वान गरेको छ ।