मोरङ । मोरंगको विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ ।
दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ। महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिए ।
उनले ध्वनि प्रदूषण र होहल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिए । विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ ।