काठमाडौं- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

 घाइते भएकामध्ये १२ जनालाई नेपाली सेनाको हलिकप्टर मार्फत काठमाडौ ल्याइएको छ । उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ । 

आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । 

 जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार बसमा ४१ यात्रु र २ जना स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ ।

दुर्घटनामा परेको यात्रुबाहक बस भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।