काठमाडौं–रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन। नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न आएका कान्छो छोरा, र बिहे गरेर गएकी छोरी घर आइपुगेकी छन्। आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ।

३० वर्षीय जेठो छोरा दीपक ओलीको गत आइतबार बिहान अमेरिकामा गोली लागेर हत्या भएको खबरले परिवारलाई दुखित बनाएको छ। टेक्सासको वेको सिटीनजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा कार्यरत दीपकलाई बन्धुकधारी लुटेराले गोली हानेका थिए। दीपकले ग्यास स्टेसनलाई लुटिनबाट जोगाउन लाग्दा घटनास्थलमै प्राण गुमाएको खबरले परिवार र गाउँलेलाई विक्षिप्त बनाएको छ।

OM Sai Pathibhara Hospital

८० लाख साहुको ऋण र डेढ वर्षको कठिन यात्रा पार गरेर गत वर्ष दीपक अमेरिका पुगेका थिए। मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपकले २०७९ मङ्सिरमा घर छोडेर डेढ वर्षमा अमेरिका पुगेको जानकारी दिनुभयो। बन्दुकधारी लुटेराले गोली हानेर हत्या गरेको र शव पोस्टमार्टमका लागि अस्पताल लगिएको खबर प्राप्त भएको छ, तर अहिलेसम्म अस्पतालले शव आफन्तलाई दिएको छैन। दीपकको शव नेपाल ल्याउन मुस्किल हुने भएकाले अमेरिका मै अन्त्येष्टि गरिने भएको छ।

जेठो छोरा गुमाएका लीलारामलाई छोरा पठाउँदा लागेको ऋणले झन् थला पार्ने अवस्था छ। प्रारम्भमा ४० लाख जति लाग्ला भनेर बैना बुझेको दलालले बाटोमा लामो समय लाग्न, जहाज चढ्न, खाना र बस्नमा बढी खर्च लाग्न भन्दै फेरि थप पैसा मागेपछि साहुको ऋण ८० लाखसम्म पुगेको छ। गोरखापत्र दैनिकमा खबर छ ।