काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति गैरसंवैधानिक भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गरेको हो ।

OM Sai Pathibhara Hospital

पूर्ण इजलासले आइतबारदेखि यही मुद्दालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो । रिट खारेज गरेसँगै मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद जोगिएको छ । 

संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

उपधारा ५ बमोजिमको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २७ वैशाख २०८० मा सर्वोच्चमा रिट लिएर पुगेका थिए ।