सर्लाही । बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि प्रदर्शनका कार्यक्रम स्थगित भएको छ ।  मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भइरहको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय-सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ ।

OM Sai Pathibhara Hospital

आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

प्रदेशसभा सदस्य कौशलकिशोर रायले दुई पक्षबीच सहमतिपछि शव उठाएर पोष्टमार्टम गर्ने र शव परिवारलाई हस्तान्तरण गर्ने सहमति भएको जानकारी दिएका छन ।

मेयर कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको धरपकड र प्रहरीको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका-६ का ३० वर्षीय साहको मृत्यु भएको थियो ।

त्यसपछि झन् उग्र बनेका प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन थालेका थिए । शनिबार दिनभर प्रदर्शन रोक्न प्रयास भएपनि प्रशासनले आक्रोशित भीडलाई शान्त पार्न सकेको थिएन ।

शुक्रबार बेलुका कर्फ्यु लगाएको प्रशासनले शनिबार खुला गरेपनि आइतबार फेरि कर्फ्यु जारी गर्न बाध्य भएको थियो । घटनामा छानविन गर्न केन्द्र सरकारले ३ सदस्यीय छानविन समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।