सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि उठ्न सकेको छैन । आफ्नो मागप्रति प्रशासनले सहमति नजनाउँदा मृतक परिवार तथा आन्दोलनकारीले जयशंकरको शव उठ्न नदिएका हुन् ।
मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित माग राखेका छन् ।
शनिबार नै गृहमन्त्रालयले घटनाको छानविनको लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । साथै मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकरको मृत्यु भएको थियो ।