काठमाण्डौ । कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ।
अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो । महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् ।
हिन्दू समुदायका अबोध बालबालिकालाई बाइबल पाठ गराइराखेको र स्थानीय महिलालाई उपचारको नाममा प्रभाव पारेर प्रार्थना गराएको खबर पाएपछि आफूहरू त्यहाँ पुगेको उनले जानकारी दिए । ‘स्थानीयले खबर गरेपछि हामी महाकालका ७० जना कार्यकर्ता त्यहाँ पुगेका थियौ । अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पढाउँदै गरेको र महिलाहरूलाई प्रार्थनाले रोग निको हुने आश्वासन दिएको भेटेपछि स्थानीयले कालोमोसो दलेका हुन्’ सचिव योगीले भने ।
राष्ट्रमा सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भए पनि अरूको धर्ममा प्रभाव पार्ने छुट कसैलाई नभएको जनाउँदै यस्ता कार्यको प्रतिवाद हुन आवश्यक रहेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मराज विकले बताए । घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्धार गरेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
महाकालका कार्यकर्ता र स्थानीयले कालोमोसो दलेर नगर घुमाउने योजना बनाउँदै गर्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल उद्धार गरेको थियो ।