काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । 

रास्वपाले पार्टी स्थापनापछि पहिलो पटक वडा अधिवेशन गर्न लागेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन शुरु भएको छ।

OM Sai Pathibhara Hospital

निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन गर्ने निर्णय रास्वपाले गरेको थियो । सात प्रदेशमा निरन्तर रूपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएको छ।

रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । 

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदै छन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन । 

जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका र यसलाई स्थानीय तहसम्म पुर्‍याउने मुख्य एजेण्डा रहेको प्रमुख सचेतक परियारले बताएका छन। 

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए । उनले भने, “११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्य रूपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।”