काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ।

मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको थियो।

OM Sai Pathibhara Hospital

भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटको पेशी सर्वोच्चले आजको लागि तोकेको हो।

एमालेका नेता कार्कीले भदौ ६ गते प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन्। मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए ।