काठमाडौं । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षक बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले शुक्रबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
नेपाल प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचिकन एआइजी बढुवा सिफारिस भएको हो। यसअघि पहुँचका आधारमा बढुवा सिफारिस हुने गरेको भन्ने गुनासोलाई ध्यान दिँदै प्रधानमन्त्री प्रचण्डले बरियता मिचेर बढुवा नगर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दियो।
सोही अनुरुप गृहले गरेको सिफारिसको एक नम्बरमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्तबहादुर कुँवर रहेका छन् भने दोस्रोमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेकप्रसाद राई रहेका छन् ।
त्यसपछि क्रमशः दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । थापा बागमती प्रदेश प्रहरी प्रमुख हुन् भने ज्ञवाली कोशी प्रदेश प्रहरी प्रमुख छन् ।
बज्राचार्य प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत रहेका छन्। नेपाल प्रहरीमा लामो समयदेखि एआईजी पद रिक्त छ। बढुवा सिफारिस भएका यिनै पाँच जनामध्ये आउँदो चैतपछि प्रहरी महानिरीक्षक बन्नेछन्।