झापा - लघुवित्त संस्था नै धरासायी हुने गरी भएका गलत कार्य रोक्न माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार जुलुस प्रदर्शन गर्दै लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने देखिएपछि आफूहरू सडकमा उत्रन बाध्य भएको सहभागी महिलाले बताएका छन् ।
मोरङको कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले संस्था नै खराब हुन भन्ने ढंगको सन्देश दिने गरी भएका गतिविधिले आफूहरूको रोजीरोटीमा समेत असर पुग्ने बताएका छन् । सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले सरकारले ध्यान दिनुपर्ने नारा लगाएका थिए ।
‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘लघुवित्त जोगाऔं’, ‘गृहमन्त्रलायको निर्णय कार्यान्वयन होस्’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विराटनगर बजार परिक्रमा गरेका छन् । जुलुसमा सहभागी हुन आएकी कटहरीकी लीलादेवी यादवले भनिन्, “लघुवित्तको समूहमा आबद्ध भई प्राप्त रकमले नै हामीले घर व्यवहार चलाउनेदेखि व्यवसायसम्म संचालन गरेका छौं । तर, पछिल्लो पटक कर्मचारी नै कुट्ने, कालोमोसो दल्नेजस्ता काम हुन थालेपछि हामी सडकमा आउनु परेको हो ।” यादवले गाउँगाउँमा पुगेर लघुवित्तले बनाएका महिला समूहहरूले नराम्रोभन्दा पनि धेरै राम्रो काम गरेको जिकिर गरिन् ।
अपराह्न विराटनगरको हाटखोला चोकबाट निस्किएको रयाली रंगेली रोड हुँदै विराटनगर बजारतर्फ अघि बढेको थियो । र्याली वित्तीय साक्षरताका लागि लघुवित्त संरक्षण तथा प्रवर्द्धन समितिले आयोजना गरेको हो ।