झापा — धनकुटाको सिंधुवाबाट तेह्रथुमको छथर गाउँपालिकाको ओख्रे जोड्ने १६ किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा छ । सडक खन्न सुरु गरेको ३० वर्षपछि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कालोपत्र थालिएको हो । स्वच्छन्द ओएसीस बन्धन भगवती भेजी निर्माण सेवाले ८२ करोड रुपैयाँ लगानीमा २०७६ मा स्तरोन्नतिसहित कालोपत्र सुरु गरेको थियो । एक महिनाभित्रै कालोपत्र सक्ने निर्माण कम्पनीका ईन्जिनियर मिनराज तामाङले वताए । कोशी राजमार्गसँग जोडिएको उक्त सडक कालोपत्रे भएपछि स्थानीयले सास्तीबाट मुक्ति पाउने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।
छथर गाउँपालिका केन्द्र शुक्रबारे बजार हुँदै सरमुकाम म्याङलुङसमेत जोड्ने छोटो दूरीको यो सडकबाट छिमेकी धनकुटा र पाँचथरवासीलाई समेत पूर्वी तराई ओहोरदोहोरमा सहज हुनेछ । यो सडक खण्ड कालोपत्र हुन थालेपछि पूर्वी तराईका सहरबजारबाट आउने सवारी समेत बढेको स्थानीय उमेश पोखरेलले बताए । उनका अनुसार पहिले घण्टौं लगाएर यात्रा गर्नुपर्ने यो सडकको दुरी अब मात्र २० मिनेटको भएको छ । सामान ढुवानी र यात्रुको भाडा दरमा समेत केही कमी आएको स्थानीय प्रकाश लिम्बूले बताए ।
सडक पूर्वाधार र अन्य सेवा सुविधा नभएको भन्दै छथर गाउँपालिकासहित आसपासका क्षेत्रमा बसाइँसराइ दर उच्च छ । सडक बनेपछि यसमा कमी आएर गाउँको विकास हुनेमा आफू आशावादी रहेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । गाउँको बीच भएर निर्माण भएको यो सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन पूर्वी तराई हुँदै भारतीय बजारसम्म पठाउन सहज भएको छथर गाउँपालिका–१ आङदीमका किसान डम्बर भट्टराईले बताए ।
सडकले जिल्लाको दक्षिणी क्षेत्र भएर सदरमुकाम जोड्ने भएकाले यो सडकबाट जिल्लावासीले पर्याप्त फाइदा लिन सक्ने कोशी प्रदेशका सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । कालोपत्र भएपछि प्रदेश राजधानी विराटनर पुग्न स्थानीयलाई मात्र ४ घण्टा समय लाग्नेछ ।