काठमाडौं - राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवन नयाँ बानेश्वरमा भोट हालेर फर्किँदै गरेका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन्। उनलाई टाउकामा चोट लागेको अवस्था छ। घाइते सांसद न्यौपाने मधेश प्रदेशका एकीकृत समाजवादीका संसदीय दलको नेता हुन्। उनी भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका बताइएको छ।
संसद् भवन बानेश्वरमा बिहान १० बजेदेखि कडा सुरक्षाबीच मतदान जारी छ। राष्ट्रपतिमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।
निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ तय भएको छ।
पहिलो चरणको चुनावबाट विजय बन्नका लागि प्राप्त गर्ने बहुमत २६ हजार ३१५ चाहिन्छ। यसमा मृत्यु भएकी जसपा सांसद सहनाज रहमानको पनि मतभार जोडिएको छ।
मतदान सकिएलगत्तै आवश्यक प्रकृया पूरा गरेर आजै मतगणना सुरु गरिने छ। मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने अयोगको तयारी छ। राष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिनेछ।