एजेन्सी / साउदी अरेबियाले सामाजिक सञ्जालमा गरेको पोस्टको विषयलाई लिएर एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ ।

जानकारहरूका अनुसार साउदी अरेबियामा यस्तो प्रकृतिको यो दोस्रो मुद्दा हो । साउदी अरेबियाको एक आतंकवाद अदालतले नूरा बिन् सइद अल कहतानीलाई सामाजिक सञ्जालको माध्यमबाट सामाजिक संरचना बिगार्ने प्रयास गरेको र सरकारी आदेशको उल्लंघन गरेको मुद्दामा दोषी ठहर गरेको हो ।

OM Sai Pathibhara Hospital

स्थानीय सञ्चार माध्यमहरुका अनुसार महिलाले साउदी अरेबियाका नेताको आलोचना गरेकी थिइन् । यद्यपि सामाजिक सञ्जालमा गरिएको पोस्टको विषयमा भने अहिलेसम्म कुनै पनि जानकारी दिइएको छैन ।

यसअघि अगस्ट ९ मा अर्की महिलालाई पनि ट्विटरमा उनको गतिविधिको लागि ३४ वर्षको जेल सजाय सुनाएको थियो । ती महिला लीड्स युनिभर्सिटीमा पिएचडीको अध्ययन गरिरहेकी थिइन् । उनको नाम सलमा अल शेहाब बताइएको छ ।

उनलाई यसै वर्ष जनवरीमा साउदी अरेबियामा छुट्टी मनाउने समयमा गिरफ्तार गरिएको थियो । सलमा शेहाबलाई पनि सरकारी आदेशको उल्लंघनसहित अन्य धेरै आरोपमा दोषी ठहर गरिएको थियो ।