कञ्चनपुर / नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । शाही समाजवादीका प्रभावशाली नेता हुन् । 

यसअघि एमालेको केन्द्रीय सदस्य रहेका शाही पार्टी विभाजनपछि समाजवादी तर्फ लागेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग यसअघि निर्वाचन लडेका शाही तत्कालीन एमालेभित्र लाभको पद प्राप्त नगर्ने नेतामध्ये एक हुन् । 

OM Sai Pathibhara Hospital

उनले विगत ५–६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दै आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘ २०५४ सालमा वामदेवले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ “ भन्दै पार्टी विभाजन गरायर थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानि भएको छ । बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दलसङ्ग आवद्ध नरहेको घोषणा गर्दछु।’

सुदूरपश्चिम एकीकृत समाजवादीका थुप्रै नेता कार्यकर्ताहरू एमाले प्रवेशको तयारीमा रहेको बेला शाहीको पार्टी परित्यागलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समाजवादीका नेताहरू भानुभक्त जोशी, तारा लामा तामाङ, कुलविर चौधरी, रामकुमार ज्ञवाली, अशोक चन्द, रामचन्द्र रेग्मी र जीवन थापालगायत पार्टीमा असन्तुष्ट छन् ।