काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंमाथि प्रहरी निगरानी बढिरहेका बेला भक्तपुरस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको छ ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले प्रसाईंको घरमा खानतलासी गर्दै महत्वपूर्ण विद्युतीय सामग्री नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्रसाईंले प्रयोग गर्दै आएकोसहित ६ वटा मोबाइल, एउटा ल्यापटप र सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । बरामद सामग्री अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरतकुमार थापाको नेतृत्वमा पुगेको टोलीले घरमा खानतलासी गरेको छ ।

किन बढ्यो प्रसाईंमाथि निगरानी ?

प्रहरी स्रोतका अनुसार लघुवित्तपीडितहरूको आन्दोलनमा प्रसाईंको सक्रियता बढेपछि उनीमाथि निगरानी तीव्र पारिएको हो ।

लघुवित्तपीडितहरूले केही दिनयता पुलचोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । यही आन्दोलनलाई थप उग्र बनाउन वा भड्काउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले प्रसाईंको गतिविधिमाथि निगरानी बढाएको दाबी गरेको छ ।

स्रोतका अनुसार साउन ३१ गतेदेखि नै प्रसाईंमाथि विशेष निगरानी राखिएको थियो । उनको भक्तपुरस्थित निवास आसपाससमेत २४ घण्टा निगरानी राखिएको बताइएको छ ।

अब प्रहरीको नजर ‘डिजिटल प्रमाण’मा !

प्रसाईंको घरबाट बरामद भएका मोबाइल, ल्यापटप र सीसीटीभीको डीभीआर अहिले प्रहरी अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ ।

विशेषगरी मोबाइल तथा ल्यापटपबाट भएका कुराकानी, सम्पर्क, डिजिटल गतिविधि र अन्य सूचनाको प्राविधिक विश्लेषण गरिने सम्भावना छ । सीसीटीभीको डीभीआरबाट घरमा भएका पछिल्ला गतिविधिबारे समेत प्रहरीले थप जानकारी लिन सक्ने देखिन्छ ।

तर यहाँ मुख्य प्रश्न उठेको छ—प्रहरीले यी उपकरणबाट आखिर के खोजिरहेको छ ?

केही समययता प्रसाईंको गतिविधि, लघुवित्तपीडितको आन्दोलन र सम्भावित आन्दोलन परिचालनबीच कुनै प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित हुन सक्ने प्रहरी स्रोतको दाबी छ।

यदि बरामद विद्युतीय सामग्रीबाट आन्दोलन परिचालन, समन्वय वा अन्य गतिविधिसँग सम्बन्धित महत्वपूर्ण प्रमाण भेटिएमा प्रसाईंमाथिको अनुसन्धानले नयाँ मोड लिन सक्छ ।

तर अर्कोतर्फ, निगरानीदेखि घर खानतलासीसम्म प्रहरी किन यति आक्रामक ढंगले अघि बढ्यो ? र बरामद उपकरणमा के त्यस्तो सूचना हुनसक्छ, जसले आगामी दिनमा थप व्यक्ति वा समूहलाई समेत अनुसन्धानको दायरामा ल्याउन सक्छ ?

अहिलेको चासो यही बनेको छ ।

अब प्रहरीको प्राविधिक अनुसन्धानपछि मोबाइल, ल्यापटप र सीसीटीभीको डीभीआरबाट के निस्कन्छ—त्यसले प्रसाईं प्रकरणको अर्को अध्याय खोल्ने सम्भावना देखिएको छ ।