झापा / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन कांग्रेसको तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउने समेत बताएका छन् ।  

देउवाले भने, –‘स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ ।’

देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट दावी गरे ।  उनले एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ । सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् । एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको छ । त्यसलाई चिर्ने गरी काममा लाग्नुहोस् ।’, देउवाले भने ।