झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा तथा खेलकुद विभाग सचिवमा मेघराज पौडेल मनोनीत भएका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रीय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो । 

लीलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघि नै सदस्यहरू मनोनीत भएका थिए । शुक्रबार मात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनीत गरिएको हो । 

OM Sai Pathibhara Hospital

नेपाल क्लाइमबिङ एसोसिएसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशील छन् । उनी यसअघि एमाले निकट नेपाल खेलकुद महासङ्घको केन्द्रीय महासचिव थिए । 

खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमालेले विभाग सचिवको जिम्मेवारी दिएको हो । नेपालमा मोटर स्पोर्टससँगै साहसिक तथा पर्वतीय खेलमा पौडेलले काम गरेका छन् । उनी पर्वतीय खेलकुद महासंघका पूर्व कोषाध्यक्ष समेत हुन् । 

एमालेको खेलकुद नीति, नियम निर्माण गर्ने निकाय खेलकुद विभागले पार्टी र सरकारमा खेलकुदको एजेन्डालाई लबिङ र स्थापित गर्ने काम गर्छ ।