झापा / सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।  

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो । 

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।