विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण अनुसार कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको छ । 

विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका उनले विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र बुझाएका छन् । 

OM Sai Pathibhara Hospital

दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर (८५ कठ्ठ) जग्गा रहेको विवरणमा उल्लेख छ । 

विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाका आर्थिक मूल्यांकन कति हो भनेर उल्लेख गरिएको छैन । 

महानगर प्रमुख कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदित श्रेष्ठका अनुसार कोइरालाले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाएका हुन् । उनकी श्रीमती र आमाको नाममा भएको जग्गा र सम्पत्ति विवरणमा समावेश नगरिएको श्रेष्ठले बताए । 

विवरण अनुसार कोइरालासँग ८० तोला सुन, सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको पाइएको छ ।  उक्त नगद पनि पैत्रिक सम्पति बाटै प्राप्त भएको उल्लेख छ । 

उनले सम्पत्ति विवरणमा विराटनगरमा भएका घरहरूको विवरण बारे उल्लेख गरेका छैनन् । उनको नाममा तीन करोड ३० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको प्राडो गाडी रहेको छ ।