काठमाडौँ / पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । 

समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार केही विषय प्राविधिक भएकोले सीसीटीभी फुटेजमाथी फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने भएकाले बैठक स्थगित गरिएको हो । 

OM Sai Pathibhara Hospital

समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने बताउँदै अर्यालले भने, ‘–बेलुकी चार बजे बस्ने बैठकमा फरेनसिक ल्याब विज्ञहरूलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’

नेपाल प्रहरीको फरेनसिक ल्यबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।

सोही प्रतिवेदनबारे छलफल गर्न आज बिहान समितिको बैठक राखिएको थियो । केही दिनअघि समितिले अर्थ मन्त्रालयको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । 

त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधि सभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।