काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता खारेजीलाई एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् ।

बिहीबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदनमार्फत संघीयता खारेजीको पक्षमा राप्रपालाई बलियोसँग उभ्याउने प्रस्ताव गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले तीन तहको संघीयतालाई खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने ठहर गरेका छन् ।

‘आगामी संघ र प्रदेशको चुनावमा राप्रपाले यी विषयलाई जोडदार रूपमा उठाउने छ,’ उनले भनेका छन्, ‘समय छँदै हाल कायम संरचनागत कमी कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताको आधारमा, संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक भएको छ ।’

प्रतिवेदनमा प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधान भित्र परिवर्तन अपरिहार्य भएको उल्लेख छ । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको पक्षमा राप्रपा कृतसङ्कल्पित रहेको लिङ्देनले उल्लेख गरेका छन् ।