काठमाडौँ / तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति नपसेको बताएका छन् । 

बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै बाहिरको मान्छे मन्त्रालयमा पस्ने कुनै सम्भावना नै नरहेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले बयानमा भनेका छन्, ‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । सुरक्षाकर्मी, मर्यादापालकहरू हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । सिसीटिभी फुटेजबारे मन्त्रीलाई कसरी थाहा हुन्छ कहिलेसम्म रहन्छ भन्ने कुरा ।’

शर्माले गत जेठ १४ गते राती अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई सहभागी गराई करको दायरा हेरफेर गरेको समाचार ३० गते सार्वजनिक भएको थियो । त्यसपछि उक्त विषयमा संसदीय छानविन समितिले उनीसँग बयान लिएको हो । 

बुधबार तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारहरुसँग पनि समितिले छलफल गरेको थियो ।

संसदीय विशेष छानबिन समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।