काठमाडौँ / स्पष्टीकरण सोधिएका ४ जना नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका छन् । 
पार्टी परित्याग गर्ने नेताहरूमा दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ रहेका छन । मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन नेताहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । 
पार्टीमा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको उनीहरूले बताएका छन् । 

विधि विधानको धज्जी उडेको अवस्थामा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी छाडेको घोषणा गरेका छन् । गत २९ असारमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यी ४ नेताहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, उक्त स्पष्टीकरणलाई ‘नाङ्लो ठटाएर हात्ती तर्साउने सस्तो खेल’ भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए । निषेध, पूर्वाग्रह र दुराशयबाट प्रेरित भएको भन्दै उनीहरूले स्पष्टीकरणको जवाफ दिन मानेका थिएनन् ।

मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अहिले झन् बढेर गएको भन्दै आफूहरू निरन्तर अभियानमा रहने उनीहरूले बताएका छन् । यसैबीच, राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक पार्टी कार्यालयमा जारी छ। बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदन, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायतका विषयमा छलफल हुने बताइएको छ ।