काठमाडौं / नेपाली कांग्रेसले भदौ २ गतेदेखि २४ गते सम्म विशेष अभियान चलाउने भएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा चुनाव लक्षित विशेष अभियान चलाउने निर्णय गरेको हो ।
यो अभियानको विस्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्ने छ ।
बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ ।
गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।
गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।