काठमाडौँ / प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छिन् । 

लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद एमालेकी प्रतिस्पर्धी विद्या भट्टराईलाई ५५ मतले पराजित गर्दै  भुसाल निर्वाचित भएकी हुन् ।

OM Sai Pathibhara Hospital

२४२ मत खसेकोमा भुसालले १४८ मत प्राप्त गरेकी छिन् भने भट्टराईले ९३ मत पाएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन भएको थियो । 

नेपाली कांग्रेसकी नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । 

यसअघि उनी तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी डा. शिवमाया तुम्बाहाङ्फे सँग पराजित भएकी थिइन् । तुम्बाहाङफेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् । 

२०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाङफेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। तुम्बाहाङफेले राजीनामा दिएको करिब साढे दुई वर्षपछि उपसभामुखको पदपूर्ति भएको हो।