काठमाडौँ / संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।  प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।

उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

OM Sai Pathibhara Hospital

उक्त बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन् ।

यस्तै, सांसद शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । सांसद कृष्णभक्त पोखरेलले उक्त प्रस्तावको समर्थन गर्नेछन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ । उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन। 

हाल प्रतिनिधिसभामा एमालेका ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।