काठमाडौँ / जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले पार्टी परित्याग गरेकी छन् । 

व्यक्तिगत कारण देखाउँदै पूर्वमन्त्री रहेकी यादवले बिहीबार जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरेको घोषणा गरेकी हुन् ।  

OM Sai Pathibhara Hospital

जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवले राजीनामा दिएकी छन् । जसपाकी संस्थापक नेतृ समेत रहेकी पूर्वमन्त्री यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

‘वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ, ‘तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

यादव यसअघि भौतिक पूर्वाधार मन्त्री थिइन् । जसपाले नयाँ मन्त्री पठाएपछि उनी फिर्ता भएकी हुन् । उनी आफूलाई सरकारबाट फिर्ता बोलाएकोमा उपेन्द्र यादवसँग असन्तुष्ट थिइन् ।

जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अलग–अलग बैठक बोलाएर पार्टी विभाजनको तयारी भइरहेका बेला कार्यकारिणी समिति सदस्य तथा सांसद यादवले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ ।