काठमाडौँ /  नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । 

प्रतिनिधिसभा अन्तर्गत उपसभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार मनोनयन दर्ता गराएकी हुन् ।

OM Sai Pathibhara Hospital

भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईले पनि उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयन दर्ता गरेसँगै भुसाल उपसभामुख पदमा विजयी हुने पक्का पक्की नै भएको छ । प्रतिनिधिसभामा एमालेका ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका जम्मा सांसदको संख्या १५४ रहेको छ । 

यता नेकपा एमालेलाई लोसपाले समर्थन गरे पनि लोसपा र एमालेका सांसदको जम्मा संख्या १११ पुग्छ । त्यस कारण सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका सांसदको सङ्ख्याको आधारमा उपसभामुख पदमा कांग्रेस नेतृ भुसाल विजयी हुने निश्चित भएको छ । 

उपसभामुखको निर्वाचन शुक्रबारका लागि तोकिएको छ ।