काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । 

प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

OM Sai Pathibhara Hospital

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी छन् ।

उनले भनिन्, –‘ एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नु पर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयमा गम्भीर छानबिन गरियोस् । दोषीउपर कारबाही गरियोस् ।’

राष्ट्र बैंक ऐन, कर्मचारी नियमावली, गभर्नरको योग्यता लगायतका व्यवस्थाविपरीत गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभागमा सदस्य बनाइएको शर्माले बताएकी छन् ।