काठमाडौँ / सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । 

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । 

OM Sai Pathibhara Hospital

भट्टराई र यादवबीच आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भएपनि उनीहरूले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। 

डा. भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौँमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाको छ भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजित हुने बताइएको छ । 

यादव समूहले मधेस प्रदेशको वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएपछि भट्टराई समूहले काठमाडौंमा विस्तारित बैठक बोलाएको हो । 

जसपा स्रोतका अनुसार भट्टराईले नयाँ पार्टी गठन गरेर जसपाबाटै विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), (महन्थ ठाकुर, राजेन्द्र महतो) संग पार्टी एकीकरण गर्ने आन्तरिक तयारी रहेको छ । 

केही समयअघि भट्टराई समूहले पार्टीलाई विधानअनुसार सञ्चालन गर्न र बैठक बस्नुपर्ने मागसहित केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर संकलन गरेको थियो । सोहीबीचमा भट्टराईसहितका नेताले पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गर्न माग गर्दै यादवलाई केही नेताले ज्ञापनपत्र बुझाएका थिए ।

यादवले निर्वाचनको समीक्षा नगरेको, निर्वाचनमा टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा चयन गर्नमा अनिच्छा देखाएको, पार्टीलाई संस्थागत रूपमा अगाडि नबढाएको लगायतका आरोप भट्टराई समूहको छ ।