बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

OM Sai Pathibhara Hospital

एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्तै उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । कांग्रेसकी रिता शाहीले ३७५५ मत मात्र पाइन् ।

नगरपालिकाको १० वटा वडा मध्ये १, २, ३, ४, ५, ६, ९ र १० नम्बर वडामा वडा अध्यक्षसहित एमालेको प्यानलनै विजयी भएको छ भने वडा नम्बर ७ र ८ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । निर्वाचन आयोगका अनुसार १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।