बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।
सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।
३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेका थिए। १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ ।
बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ।
यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ । मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्।






































