काठमाडौँ / बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइरालासम्मले सार्वजनिक रुपमा नै दबाब बढाएका हुन् ।

OM Sai Pathibhara Hospital

सो दिनको घटनाको सीसीटीभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रुपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् । कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड गरेका छन् ।

‘बजेट निर्माणको बेलाको विषयलाई समेत जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भनेका छन्, ‘विगतमा पनि संसद्को यस्तो परम्परा छ, बरु ढिलो नगरौँ ।’

उता, उपसभापति धनराज गुरुङले छानबिन समिति गठन, छानबिन समिति गठनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने तीनवटा मोडेल अघि सारेका छन् ।

‘संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत निगरानी गरिन्छ,’ गुरुङले भनेका छन्, ‘सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ, जनताले हेर्न पाउनुपर्छ । विवाद समाधानका लागि छानबिन समिति गठन र छानबिन समितिलाई सहयोगका लागि अर्थमन्त्रीको राजीनामा वा बर्खास्त’ गर्नुपपर्छ ।’

महामन्त्री गगनकुमार थापाले विवादमा मुछिएका अर्थमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । ‘अर्थमन्त्री विवादमा मुछिनु भएको छ, उहाँले तत्काल राजीनामा दिनुपर्छ,’ थापाले यसअघि नै भनिसकेका छन् ।

उता, सभापतिका प्रत्याशी शेखर कोइराला र उनका समूहले पनि राज्यविरुद्ध गम्भीर अपराध गरेको भन्दै अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्तु गर्नुपर्ने धारणा राखिसकेका छन् ।

‘सार्वजनिक पदमा बसेको व्यक्ति विवादित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुन्छ । तर, राजीनामा नदिएर बसेका अर्थमन्त्री शर्मालाई प्रधानमन्त्रीले तत्काल राजीनामा दिन लगाउनु पर्छ, नभए बर्खास्त गरेर छानबिन गर्नुपर्छ ।’

कोइराला समूहको गत बिहीबार बसेको बैठकमा बोल्ने अधिकांश नेताले अर्थमन्त्री शर्माले राजीनामा दिलाउन लगाएर प्रधानमन्त्री देउवाले छानबिन गराउनुपर्ने धारणा राखिसकेका छन् ।