झापा / प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन्। 

सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि सांसद खातुनले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । खातुनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन्। 

OM Sai Pathibhara Hospital

मोरङको तत्कालीन कदमाहा गाउँ विकास समितिमा रहेको ३ कठ्ठा १० धुर जग्गाको मोही प्राप्त गर्न खातुनले कागजात, हस्ताक्षर र सरकारी छाप कीर्ते गरेकी थिइन् । 

२०७१ साल चैतमा गाविस सचिवको तर्फबाट सिफारिस गरेको पत्र तयार पार्दा दुई वटा सिफारिसमा एउटै दर्ता नम्बर भेटिएपछि कीर्ते गरेको खुलेपछि मुद्दा परेको थियो । 

सोही मुद्दामा जिल्ला अदालत मोरङले दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । त्यो फैसलाविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पुगेकी खातुनको मुद्दामा उच्च अदालतले सजाय थप गरी एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । 

उच्चको फैसलाप्रति पनि असन्तोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । तर, गत २५ जेठमा सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि सांसद खातुनले पदबाट राजीनामा दिएकी हुन् ।

जिल्ला अदालतको आदेश लगत्तैदेखि फरार उनले संसद्मा सुटुक्क आएर हाजिरी जनाउँदै तलबभत्ता भने बुझ्ने गरेकी थिइन्।