काठमाडौं / आज नेपालमा संसद् दिवस मनाइँदैछ । १६ असार २०१६ मा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष असार १६ गते संसद् दिवस मनाउन थालिएको हो । 

पहिलो निर्वाचित संसद्‌को पहिलो बैठक १६ असार २०१६ को मध्यरातमा शुरु भएको थियो । संघीय संसद् सचिवालयको अभिलेख अनुसार राजा महेन्द्रले प्रतिनिधिसभाको बैठक रातको ११ः४५ बजेका लागि आह्वान गरेका थिए।

OM Sai Pathibhara Hospital

संसद् सचिवालयको पुस्तकालयमा पहिलो संसद्को कामकारबाही सम्बन्धी विवरण (भर्बेटियम) राखिएको छ । जस अनुसार, पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो । 

गुल्मी उत्तरपूर्व क्षेत्र नम्बर ८९ बाट सांसद निर्वाचित बुढाथोकीलाई संसद् बैठकको अध्यक्षताका लागि प्रमुख सचिव हंसमान सिंहले शपथ ग्रहण गराएका थिए। 

पहिलो दिनको बैठकले १८ असारको दिउँसो ३ बजे सभामुखको निर्वाचन हुने तय गरेको थियो । १८ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई पहिलो संसद्का सभामुख चयन भए।

त्यतिबेला संसद्‌मा लिखित भाषण पढ्न नपाइने व्यवस्था थियो । सचिवालयको अभिलेखहरूमा उल्लेख भए अनुसार, राष्ट्र भाषा नेपाली भएकाले त्यही बोल्नुपर्ने र नेपाली भाषा नआउने भए सिकुञ्जेलका लागि भने हिन्दी बोल्न पाउने व्यवस्था थियो।

सभामुखको शुभकामना

संसद् दिवसका अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना व्यक्त गरेका छन् । सापकोटाले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन र जनसङ्घर्षमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

सभामुखले शुभकामना सन्देशमा भनेका छन्,’ संसद् दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसद्ले भोग्नु परेका विविध आरोहावरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसद्सँगका जनअपेक्षा र हाम्रा कामहरूको समीक्षा गर्ने बेला आएको छ ।’