काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन माओवादी धाराहरू सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको राष्ट्रिय स्वाधीनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन माओवादी धाराहरू सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै उनले विगतमा केही साथीहरू ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरू फर्किन थालेको समेत बताए ।

‘क्रान्तिको खोजीमा, परिवर्तन र रूपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने । 

कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उनले बताए ।