बुटवल / पछिल्लो समय विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । ओलीले आज (बुधबार) मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

गत ३१ जेठमा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । 

OM Sai Pathibhara Hospital

सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए । वलीले सोमबार नै राजीनामा बुझाएको उनको भनाइ छ ।

उक्त घटनाको छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् । 

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । 

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।